काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् ।
आईतवार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी आफूले पाएको बताएका हुन् । उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको बताए ।
उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिए । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको जानकारी दिए ।
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गरेको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित भएर मतदान गरिरहेको बताए ।




















