काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि दुई भविष्यलाई सम्झिन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले मतदान गर्नुअघि आफ्नो र आफ्ना छोराछोरीको भविष्य सम्झिन आग्रह गरेका हुन् ।
उनले मंसिर ४ गतेको चुनावले देश कसको हातमा सुम्पिने भन्ने कुराको निर्क्योल गर्ने भएकाले स्पष्ट निर्णय लिन आग्रहसमेत गरे । ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्ने छ । शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा?,’ उनले मतदातासँग प्रश्न गरेका छन्।
उनले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको आरोप लगाए । गठबन्धनको कुनै राष्ट्रिय उद्देश्य नरहेको भन्दै उनले मंसिर ४ पछि यही गठबन्धन रहिरहे मुलुक बर्बादीतर्फ जाने बताए । उनले आफू पटक-पटक मृत्युको मुखबाट फर्केर आएको भन्दै आफूले कहिल्यै झुटो नबोल्ने र सत्य नछोड्ने वाचा गरेका छन् ।
उनले दुई भविष्य सुनिश्चितताका लागि भिडियो सन्देशमार्फत् भोट मागेको स्पष्ट पारे । उनले एमालेका लागि भन्दा पनि राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थायी सरकारका लागि भोट मागेको बताए ।




















