काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् ।
एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलबाट मतदान गर्ने बताए ।
देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन्। आयोगले अस्थायी मतदाता नामावली समेत तयार पारेको उनले बताए। करिव ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताए ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाईने, प्रचार प्रसार गर्न नपाईने बताएका छन् । मतगणनाको काम नभएसम्म सभा, जुलुश लगाएतका प्रचार प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए । उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगाएत कुनै पनि निर्वाचन बिरोधी कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताएका छन् ।
निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारेका छन् । त्यस्तै थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको बताएका छन् ।
आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ । आज बिहीबार राती १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन।




















