ताप्लेजुङ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको दाबी गरेका छन् ।
आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको दाबी गरे ।
परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको बताए ।
मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यक रहेको बताए ।
आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यक रहेको बताए । देशलाई अस्थिरताबाट जोगाउन र समृद्ध बनाउनका लागि गठबन्धन भएको दाबी गर्दै गठबन्धन लामो समयसम्म रहने बताए । गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु रहेको उनको भनाइ थियो ।




















