विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को गर्दै कांग्रेसका नेताहरुको प्रशंसा गरिरहेका छन् । कहिले शेरबहादुर देउवाको त कहिले रामचन्द्र पौडेलको । कांग्रेसका नेताहरुले पनि त्यसको पैचो तिर्ने गरेका छन् । केही दिनअघि रामचन्द्र पौडेल अबको प्रधानमन्त्री भन्दै प्रचण्डले भाषणा गरेपछि पौडेलले पनि प्रचण्डलाई शान्ति र क्रान्तिको नायक भनेका थिए । पौडेलको अभिव्यक्तिप्रति कांग्रेसकै कतिपय नेताहरुले आलोचना गरेका छन् ।
प्रचण्डले ठाउँ र नेता अनुसार कसैलाई प्रधानमन्त्री, कसैलाई मुख्यमन्त्री त कसैलाई मन्त्री बनाइदिने बताउने गरेका छन् भने टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई राजनीतिक नियुक्ति गरिदिने आश्वासन बाड्ने गरेका छन् ।
आज आफ्ना ज्वाई जीवन आचार्यका लागि मत माग्न मोरङ पुगेका दाहालले डा. शेखर कोइरालालाई खुसी बनाउने प्रयास गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा गठवन्धनका तर्फबाट डा. कोइराला छन् । सो क्षेत्रको प्रदेशसभा १ मा प्रचण्डका ज्वाइँ आचार्य गठबन्धनबाट उम्मेदवार छन् ।
मोरङ क्षेत्र नम्बर ६ (१) सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछियामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले शेखर कोइरालाकै कारण शान्ति सम्झौता सम्भव भएको बताउँदै शान्ति प्रक्रियाका एक पात्रको संज्ञा दिएका हुन।
दाहालले युवा र गतिशील नेताको संज्ञा दिँदै प्रदेशसभाका उम्मेदवार आफ्ना ज्वाइँको पनि प्रशंसा गरेका छन्।
उनले शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने बताएका छन् ।



















