काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठसहित २८ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका हुन् । श्रेष्ठ माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका छन् ।
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे । उनले एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै देशको माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान गरे । एमालेले जिते मात्र देशमा स्थिरता हुने उनको भनाई छ ।
कांग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताए । उनले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ।
गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्ने क्रम दिनहुँ भइरहेको छ । एमालेमा वडा सदस्य उम्मेदवार लगायतका नेताहरु समेत प्रवेश गरेका छन् ।




















