काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरुमा निरीक्षण भ्रमण गर्ने क्रममा आज मकवानपुर जिल्ला, हेटौंडास्थित मध्य पृतना हे।.क्वा., सिन्धुलीको माझीटारस्थित श्री नं. ९ बाहिनी अड्डा र सुनसरी जिल्ला, ईटहरीस्थित पूर्वी पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान उनले उक्त पृतना हे.क्वा.हरु तथा बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजनाका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन दिएका छन् । सोही क्रममा प्रधान सेनापति शर्माले उक्त पृतना हे.क्वा. तथा बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन् ।

उक्त निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सह सचिव प्रकाश पौडेलको समेत सहभागिता रहेको थियो ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले कार्तिक २९ गते मोरङ्ग जिल्ला, थलाहास्थित भैरव गण, उदयपुर जिल्ला, झुल्केस्थित श्री नं. १८ बाहिनी अड्डा र काभ्रेपलाञ्चोक जिल्ला, भकुण्डेवेसीस्थित श्री नं. २६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने बताइएको छ । साथै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्चोक जिल्ला, महाभारत ईलाकामा स्थापना गरिएको Platoon Operating Base (POB) को निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।





















