काठमाडौं । विश्व मधुमेह दिवस, नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो ।
दिवसका अवसरमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मधुमेह शिक्षा भोलीको सुरक्षाका भन्ने नाराका साथ काठमाडौंमा जनचेतनामुलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नेपालमा मधुमेह सम्बन्धी रोगको औषधी सरकारले निशुल्क बितरण गरेको जानकारी दिए । सर्वसाधारणलाई जानकारी नहुँदा मधुमेह लगाएत अन्य निशुल्क बितरण गरिएको औषधी किन्न बाध्य भएकाले यस बिषयमा प्रचारको आवश्यकता रहेको उनले बताए ।
विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको अध्ययनले देखाएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान गरिएको छ ।
मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने चिकित्सकहरुको भनाई छ ।



















