सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले गल्ती सच्याएर एमालेमै फर्कन सक्ने बताएका छन् ।
सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई विगतमा भएका गल्ती सच्याएर एमालेमै फर्कन सक्ने बताएका हुन् ।
एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरे ।
उनले एमालेमा फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ ।
विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।
अध्यक्ष ओली गठबन्धन सरकारप्रति आक्रोशित हुँदै भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’
ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने ? भन्दै प्रश्न गरे । ‘गठबन्धनले बनाएको घोषणापत्र आआफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसको घोषणा पत्र लागू गरेर सरकार चलाउँछन्,’ओलीले भने,‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’
उनले गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको बताए । ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’
उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको दाबी गरे ।




















