काठमाडौं । विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेको किष्ट शिक्षण अस्पतालले गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । नेपालमा वर्षेनी मृगौला रोगीहरुको संख्या बढ्दै गएपछि किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ ।
नेपालमा वार्षिक तीन हजार भन्दा बढी मृगौला रोगबाट पीडित हुने गरे पनि तीन सयको जतिको मात्रै प्रत्यारोपण हुने गरेको छ । वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंज र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सरकारको आर्थिक सहयोगमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । तर, विरामीको चाप धान्न नसकेको अवस्थामा किष्ट शिक्षण अस्पतालले मृगौला उपचारमा सरकारलाई पनि सहयोग पुगोस र रोगीहरुले पनि समयमै सेवा पाउन भन्ने उद्देश्यले डेढवर्षअघिबाट छुट्टै युनिट व्यवस्था गरेर मृगौला प्रत्यारोपणको थालनी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले मिति २०७७ फागुन १८ गते किष्ट शिक्षण अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान गरेपछि सो अस्पतालले २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो ।
अस्पतालले ५० औं मृगौला प्रत्यारोपणमा सतप्रतिशत सफलता हासिल गरेको अवसरमा मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर मृगौला प्रत्यारोपणको प्रक्रिया, सफलता, कानूनी प्रक्रिया, मृगौला प्रत्यारोषण पछिको अवस्था, मृगौला रोग लाग्नबाट वच्ने उपायलगायतका विषयमा जानकारी दिएको छ । कार्यक्रमको नाम ५० औं मृगौला प्रत्यारोपण राखिए पनि अस्पतालका अनुसार हालसम्म ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिसकेको छ ।
प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट सो अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आ—आफ्नो काममा फर्किएको अस्पतालले जनाएको छ । किष्टले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यो सेवा लिनका लागि विदेश जानुपर्ने वाध्यतालाई केही हदसम्म रोकेको छ ।
किष्ट अस्पतालको मृगौला प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिक, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ सहितको मल्टीडिस्पिईनरी टीम संलग्न रहेको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रमा लामो समय मृगौला प्रत्यारोपण टिममा रहेर मृगौला तथा लिभर प्रत्यारोपणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका डा. नारायण कुमार भुषालको नेतृत्वमा किष्ट अस्प्तालमा पहिलो मृगौला प्रत्यारोपणमा सफलता हासिल गरेको थियो ।

किष्ट अस्पतालमा मृगौला प्रत्यारोपण युनिटको नेतृत्व गरेका डा. भुषालले हाल ल्याप्रास्कोपिक विधिबाट सानो प्वाल पारि मृगौलादाताको मृगौला निकालिने हुँदा पहिला जस्तो निको हुन लामो समय नलाग्ने र मृगौला दान दिएकै कारण जीवन भरि मृगौलाको समस्या नआउँने बताएका छन् ।
विदेशमा ब्रेन डेथ भएका व्यक्तिबाट मात्र ९० प्रतिशत मृगौला प्रत्यारोपण हुने गरेकोे जानकारी दिँदै डा. भुषालले नेपालमा ब्रेन डेथको कानून बनेपनि जनचेतना जगाउन नसकिएका कारण हालसम्म ४/५ जनामा मात्र ब्रेन डेथको मृगौला प्रत्यारोपण गरिएको बताएका छन् । अन्यको हकमा जीवित आफनतबाटै लिने र प्रत्यारोपण गर्ने गरिएको उनले बताए ।
डा. भुषालले भनेका छन् –“मृगौला प्रत्यारोपण गर्दा प्रायमा अन्यखालको समस्या छैन भने पुरानो मृगौला निकालिदैन । रक्त समूह फरक परेको अवस्थामा मृगौला साटासाट गरेर पनि प्रत्यारोपण गर्न सकिने कानूनी मान्यता भएकाले मृगौलाका विरामीलाई थप राहत मिलेको छ ।’
मृगौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले पनि यो सेवा लिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धि विभिन्न शिर्षकहरुमा हदै सम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएको छ । किष्ट अस्पतालमा सरकारले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग नगरेपनि अस्पतालले ४ लाख ५० हजारमै प्रत्यारोपण गर्दै आएको छ । यसरी प्रत्यारोपण गर्दा केन्द्र सरकार र स्थानीय सरकारले समेत विरामीलाई आर्थिक सहयोग गर्ने हुँदा विरामीलाई राहत हुने गरेको छ । कानुनमोजिम रितपूर्वक प्रक्रिया पूरा गरेको खण्डमा अस्पताल आएको १५ दिनभित्र मृगौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।
मृगौलाका विरामीलाई डायलासिस गरेर ४ देखि ५ वर्ष मृगौला बचाउनुभन्दा एकैपटक मृगौला प्रत्यारोपण गर्न सके विरामीको आयु पनि २० देखि २२ वर्ष लम्बिने र राज्यको खर्च पनि कम हुने बताउँदै डा. भुषालले यो विषयमा जनचेतना र मृगौला प्रत्यारोपण केन्द्रहरु विस्तार हुनुपर्ने अहिलेको अवस्था रहेको बताएका छन् ।

प्रत्यारोपण सेवा सुलभ, सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ । सो विभागले विरामी पहिलो पटक अस्पतालमा आएदेखि चिकित्सकीय परामर्श र कानूनी परीक्षणलाई साथसाथै अगाडि बढाउने गरको छ । जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६,७ चरणको छलफल भेटघाट र परीक्षण पश्चात सवै आधारहरु ठीक भएमा बिरामी सम्पर्कमा आएको दिनबाट छिट्टोमा १३ दिन भित्रमा प्रत्यारोपण गराउने गरिएको अस्पतालले जनाएको छ ।
अन्यत्र अस्पतालमा जादाँ निकै ढिलासुस्ती, कतिपयमा अत्यधिक शुल्क लिईएको तथा नर्सिङ् तथा चिकित्सकीय परामर्श चित्त बुझ्दो नभएको, लामो समय कुर्नु पर्ने जस्ता पीडादायी अवस्था महसूस गरेको पाइए पनि किष्ट अस्पतालको सम्पर्कमा आएपछि ट्रान्सप्लाण्ट कोअर्डिनेटरहरुले गर्ने परामर्श साथै चिकित्सकीय परामर्श चित्त बुझ्दो भएको र सम्पूर्ण सबै प्रक्रियाहरुमा संलग्न पक्षहरु निकै चासोका साथ रोगीमैत्री तरीकाले खटिएको पाईएको सेवाग्राहीहरुले बताएका छन् । मृगौला प्रत्यारोपण पछि दाता र ग्रहणकर्ता दुवैलाई नियमित रुपमा अस्पतालले फलोअपमा बोलाउने र आवश्यकता अनुसार टेलिमेडिसिन प्रणलीबाट परामर्श दिने गरेकामा सेवाग्राहीहरुमा निकै सन्तुष्टी पाइएको छ ।
नेपालमा मृगौलाका बिरामीलाई उपचार गर्नेदेखि उपचारपछि दीर्घकालसम्म औषधि खानका लागि सरकारले पनि सक्दो सहयोग गरेको छ भने अस्पतालले पनि विभिन्न संघसंस्थाहरुमार्फत सहयोग लिएर पनि औषधि उपचारमा सघाउ पु¥याउँदै आएको डा. सन्तोष क्षेत्रीले जानकारी दिएका छन् । हरेक नागरिकले आफ्नो मृगौला स्वस्थ राख्न खानपान, आहार व्यवहार तथा शारीरिक तन्दुरुस्तीमा ध्यान दिने र समय समयमा परीक्षण गर्नु अनिवार्य भएको उनले बताएका छन् ।
मृगौला प्रत्यारापण जटिल हुनुका साथै खर्चिलो भएका कारण विरामीलाई आर्थिक कारणले उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उदेश्यले हदैसम्मको न्यूनतम शुल्क राखि प्याकेजमै सेवा दिँदै आएको अस्पतालका प्रिन्सिपल प्रा.डा.बलमान सिंह कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै अस्पताल निर्देशक प्रा.डा सुरज बज्राचार्यले मृगौला प्रत्यारोपण कार्यलाई सफल बनाउँने नेपाल सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र विशेष गरि उपचारमा संलग्न चिकित्सक तथा मृगौला दाताहरु प्रमुख धन्यवादका पात्र भएको बताएका छन् ।
एकातर्फ मृगौला रोगीहरुलाई राज्यले दिने आर्थिक सहयोग अपर्याप्त रही आएको छ भने प्रत्यारोपण पश्चात पनि ग्रहणकर्ताले लामो अवधिसम्म औषधि सेवन गर्नु पर्ने हुँदा परिवारमा पर्ने आर्थिक बोझले दीर्घकालीन क्षति पुग्नबाट जोगाउन किष्ट शिक्षण अस्पताल पिडित परिवारलाई कुनै न कुनै प्रकारले आर्थिक सहयोग पुगोस् भन्ने अभिप्रायले सामजिक संस्था तथा व्यक्ति विशेषलाई सहयोगी हातहरु अगाडि बढाउन अनुरोध गर्दै आएको पनि उनले बताए ।
सोही अवसरमा अस्पताल चिफ अमिक पाठकले मृगौला प्रत्यारोपणमा ५१ जनामा सफलता मिलेको अवसरमा सबै टीमलाई धन्यवाद दिँदै सूचनाका माध्यमबाट आम नागरिकलाई सुसूचीत गर्ने सञ्चार माध्यमहरुप्रति आभार प्रकट गरेका छन् ।
मृगौला रोग रोगीहरुको लागि मात्र समस्याको विषय नभई बिरामीहरुका आफन्तलाई समेत ठूलो पारिवारिक बोझको रुपमा देखापर्दछ । रोग पहिचान समयमै हुन नसकी मृगौला गम्भीर अवस्थामा पुग्दा उपचार खर्चिलो हुँदा ठूलो आर्थिक बोझ तथा व्यक्तिको सक्रिय जीवनमा हृदय विदारक रुपमा हस आउन सक्छ । अतः हरेक नागरिकले डा. क्षेत्रीले भनेझै आफ्नो मृगौला स्वास्थ राख्न खानपान, आहार–व्यवहार तथा शारिरीक तन्दुरुस्तीमा ध्यान दिनुका साथै समय समयमा स्वास्थ्य परीक्षण गराउन आवश्यक देखिएको छ ।




















