डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई प्रशासन लगाएर चुनाव प्रचारमा रोक लगाइएको छ । स्वतन्त्र उम्मेद्वार ढकालले आफूलाई चुनाव प्रचार-प्रसार गर्न नदिइएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई चुनाव प्रचार गर्न नदिइएको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको तर, आफूलाई भने चुनावी प्रचारको लागि माइकिङ गर्नसमेत नदिएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई जोगाइदिनुहोस्- जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ ।’
हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा प्रशासनले नदिएको उनले बताएका छन् । ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।’ उनले भनेका छन् ।
ढकालले यसपटक देउवालाई स-सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् ।
पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका थिए । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने उनले बताउँदै आएका छन् । देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल देउवा डडेल्धुरा पुग्दा स्वागतमा फूलमाला लिएर लाइनमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
पाँच वर्षअघि बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई गरेको प्रश्नबाट चर्चामा आएका ढकाल सरकारले आमनिर्वाचन घोषणा गरेलगत्तै डडेल्धुरा गएका थिए । ‘बेलायतका प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालय पढेका छन् । सिंगापुर, चीन, अमेरिकामा पनि उत्कृष्ट विद्यार्थी मात्र प्रधानमन्त्री बन्छन् । नेपालमा विगत ७० वर्षदेखि खै त हामीले त्यस्तो प्रधानमन्त्री पाएको ?’, पाँच वर्षअघि देउवालाई सोधेको यही प्रश्नले ढकालले चर्चा पाएका थिए । ढकालले पुलचोक इञ्जिनियरिङ कलेजबाट स्नातक र अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स गरेका थिए । डडेल्धुरा देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन् ।
ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई रोक लगाएको भन्दै प्रचार गरे पनि जिल्ला प्रशासनले भने कुनै उम्मेदवारलाई रोक नलगाइएको बताएको छ ।





















