काठमाडौं । डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ ।
योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार २५३ पुगेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा एकजनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएका थिएनन् । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गरेको विज्ञहरु बताउँछन् ।
पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको थियो । डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।




















