काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो बताएका हुन् ।
उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको बताउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दाबी गरे ।
सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्टिकरण दिए ।
आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको समेत बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगर्न पनि अनुरोध गरे । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मसात गरेर अघि बढने समेत बताए ।
निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एकजना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जानकारी दिए ।




















