काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन् । बिहिबार नेपाल तरुण दल रुपन्देही क्षेत्र नं.३ ले आयोजना गरेको बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी वर्षौ पछि सल्बलाउन थालेको टिप्पणी गरेका हुन ।
रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले प्रतिगमनका बिरुद्धमा उभिएका पाँच दलीय गठबन्धनले मात्रै मुलुकलाई पश्चगमनतर्फ लैजाने तर्क गरेका छन् ।
उनले पाँच दलिय गठबन्धनको एउटै मात्रै लक्ष्य नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई सम्वृद्धि, विकासको बाटोमा लैजाने रहेको बताउँदै पञ्च्यातबिरुद्ध २0४६ सालमा र २0६२–0६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको तर्क गरेका छन् ।
गृहमन्त्री खाँणले सिमानामा बस्ने नेपालीहरुले सीमा रक्षाको लागि ठूलो योगदान दिएको बताउदै राज्यले सिमानामा बस्ने नेपालीहरुलाई सम्मान गरिरहने बताए । उनले नागरिकको अवस्था बदल्न र पाँच बर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उल्लेख गर्दै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनु पर्नेमा जोडदिएका छन् ।
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् ।



















