काठमाडौं । नेकपा एमालेका काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार मणिराम फुयाँलले निर्वाचन क्षेत्रका जनताको विवेकप्रति आफू विश्वस्त रहेको बताएका छन् ।
काठमाडौं–२ अन्तर्गत वडा नं ३२ को जडिबुटी र कोटेश्वर तथा वडा नम्बर ९ को सिनामंगल क्षेत्रमा वुधबार सम्पन्न मतदाता घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार फुयाँलले त्यस्तो बताएका हुन ।
‘जनताका बीचमा काम गरेको, क्षेत्रको समस्यालाई नजिकबाट बुझेको उम्मेदवारलाई जिताउन जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु’, फुयाँलले भने, ‘सबै प्रकारका समस्यालाई प्राथमिकीकरण गरेर यथोचित ढंगले समाधान गर्दै सन्तुलित विकास गर्ने दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछु ।’
उनले जनताका बीचमा निर्वाचनका बेला अनेक भ्रम छरेर झुटा आश्वासन दिने तर क्षेत्रको समस्या पहिचान गरेर दीगो, सन्तुलित र जवाफदेही ढंगले काम गर्न नसक्नेहरुप्रति काठमाडौं–२ मतदाताहरु सचेत हुनुपर्नेमा पनि जोड दिएका छन् ।
मतदाता घरदैलो र अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशका निवर्तमान सभामुख तथा प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी थिए ।




















