काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ ।
अदालतमा मंगलबार लामिछानेको बयान सकिएपछि आज थुनछेक बहस सुरु भएको हो । आज पीडित पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन्।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग पत्र दर्ता गरेसँगै मंगलबार प्रतिवादी लामिछानेको बयान लिइएको थियो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो ।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।



















