काठमाण्डौं । निर्वाचन आयोगले सरकारी सम्पतीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिएको छ ।
निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतीको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहीता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताए ।
सरकारी सम्पतीको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहिताले रोकेको बताए । उनले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतीको प्रयोग गर्न आचारसंहितामा नै रोकिएको पनि स्पष्ट गरे ।
निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने विश्वास आयोगले लिएको बताए ।




















