काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ । समाजवादीले निर्वाचन प्रणाली सुधारमा जोड दिँदै घोषणा पत्र सार्वजनिक गरेको हो ।
सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन आवश्यक रहेको औंल्याए ।
घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । ’
नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धिको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।
यस्तै, समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घरघरमा बिजुली, जनजनमा सेयरमा निती लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।




















