दोलखा । नेकपा एमालेबाट दोलखा प्रदेससभा–२ का उम्मेदवार भरतबहादुर केसीले दोलखाको उत्तरी क्षेत्रको सडक निर्माण र विकासमा अबरोध गर्ने विकासबिरोधी माओवादीलाई मंसिर ४ को निर्वाचनमा जनताले पराजित गर्ने विश्वास व्यक्त गरेका छन् ।
पच्चिस वर्षअघि एमालेले दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकाम जोड्ने सडक निर्माणको अगुवाई गर्दा पटक–पटक माओवादीले अबरोध गरेको थुप्रै घटनाको तथ्य स्मरण गर्दै उम्मेद्वार केसीले ४ मंसिरमा पराजित गरेर त्यसको एकमुष्ट जवाफ दिन मतदातालाई अपिलसमेत गरेका छन् ।
०५४ सालमा अधिकांश स्थानीय निकाय जितेर जिल्ला विकास समितिको नेतृत्व लिएको एमालेले दोलखाको विकासका लागि ५४ वटै गाविसलाई सडक सञ्जालबाट जोड्नका लागि चक्रपथ निर्माणको अवधारणा अगाडि सारेको थियो । त्यसक्रममा एमालेले दोलखा हुँदै सुनखानी–साङवा सडक निर्माण सुरु गरेको थियो भने केही वर्षमै एमालेकै सकृयतामा चरिकोट–सिंगटी सडक निर्माण सम्पन्न भएको थियो । तर, सुनखानी साङवा सडक निर्माणमा माओवादीले निरन्तर अबरोध गरेर प्राविधिकहरुलाई कुटपिट गर्ने, मेसिन जलाउने काम गरेर हिंसा मच्चाएपछि केही वर्ष काम अगाडि बढ्न सकेको थिएन । जसका कारण भीमेश्वरदेखि उत्तरका सुन्द्रावती, क्षमावती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे, कालिञ्चोक, खोपाचागु, विगु, आलम्पु, चिलंखा, लादुक, वुलुङसहित सिंगटी उत्तरका दर्जन गाविस धेरै वर्षसम्म सडक सञ्जालमा जोडिनबाट वञ्चित भएका थिए ।
पच्चिस वर्षअघिको तिनै घटनालाई स्मरण गर्दै उम्मेद्वार केसीले विकासविरोधी माओवादीलाई जनमतबाट जवाफ दिन खोपाचागुमा आयोजित कार्यक्रममार्फत अपिल गरेका हुन ।
‘२०५४ सालमा जिल्ला विकास समितिको नेतृत्व लिएर एमालेले सुनखानी–साङबा सडक निर्माणका लागि सर्वे गर्न मेसिनसहित पठाँउदा खोपाचाग्ुबाट लुटियो । अमूक राजनीतिक दल(तत्कालीन नेकपा माओवादी)ले लुटेर बाटो बनाउन निरन्तर अबरोध गरिरह्यो । तर पनि हामी जनतासँग जोडिरह्यौं र हाम्रै अगुवाइमा सुनखानी–साङ्गबा सडक बाटो ढिलै भए पनि आइछाड्यो’ खोपाचागुमा केसीले भने, ‘वृद्ध बाआमाहरु अहिले पनि मेसिन लुटिएको घटनाको साक्षी हुनुहुन्छ, त्यसैले यो कुरा खोपाचागुबासीले मात्रै होइन, सबै विगुवासीले खुलेर भन्नुपर्छ, भोट माग्न आउने विकासबिरोधी माओवादीलाई प्रश्न गर्नुपर्छ ।’
त्यतिबेला विकासको काममा खटिएका प्राविधिकलाई समेत कुटपिट गरी जलाउनसमेत खोजेको भन्दै उनले अहिले विकासका बारेमा माओवादीले अनेक भ्रम फैलाउनेगरी गाउँमा आउसक्ने भएकाले सजक बन्न मतदाताहरुलाई अपिल पनि गरेका छन् ।
‘हिजो सर्वे गर्दा मेसिन खोसेर प्राविधिकलाई लखेटेर जलाउन खोज्नेले आज सडक, विकास हामीले ल्याएको भन्न सक्छन, त्यसैले उनीहरुले फैलाउनसक्ने भ्रमबाट मुक्त भएर तपाईंहरुले मंसिर ४ मा सूर्य चिन्ह् रोज्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ उनले भने ।
तत्कालीन समयमा माओवादीले चलाएको हिंसा र अबरोधकै कारण दोलखाको उत्तरी क्षेत्र विकासमा पछाडि परे पनि एमाले सांसदहरुको अगुवाईमै त्यस क्षेत्रको विकास अगाडि बढेको पनि उनको भनाई थियो ।
मतदाताले बिगतको त्यो घटना सुनेपछि माओवादीलाई मत नहाल्ने अठोट गरेका छन । ‘हामीले थाह पाएका रहेनछौं, माओवादी त हाम्रो क्षेत्रलाई सधै बिकास आउन नदिने षडयन्त्रमा पो रहेछ, अव बुझियो, हामी मत हाल्दैनौं,’ स्थानीयवासीको भनाई थियो ।


















