दोलखा । नेकपा एमालेकातर्फबाट दोलखा निर्वाचन क्षेत्र प्रदेश (क)का उम्मेदवार नरबहादुर श्रेष्ठले नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीलाई विशेषगरी पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् ।
जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेकाले त्यो काम एमालेकै नेतृत्वमा सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् । उनले आगामी कार्यकालमा जिरी विमानस्थल सुचारु गरी जिरीलाई पर्यटकीय हबका रूपमा प्रवद्र्धन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा आइतबार जिरी पुगेका उम्मेदवार श्रेष्ठले जिरीमा विमानस्थल सञ्चालन नगरी पर्यटकीय गन्तव्य बनाउन नसकिने धारणा व्यक्त गरेका छन् । ‘यो कृषि फार्मको रूपमा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितुँ वा नजितुँ जिरी एयरपोर्ट बनाउने प्रण गर्दछु । यो नबनाइकन जिरीको विकास हुँदैहुँदैन । किनभने अहिले भइरहेको हेलिप्याडले मात्रै यहाँको चाप थेग्न सकिरहेको छैन । त्यसैले जिरीको उन्नती र प्रगतिका लागि एयरपोर्ट नबनाइ हुँदैहुँदैन,’ उनले भने ।

पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रीन, क्लिन र अग्र्यानिक जिरी’ अभियानलाई तीव्र पारिने पनि उनले बताए । जिरीका निवर्तमान मेयर टंक जिरेलले अगाडि सारेको उक्त अभियानलाई आफूहरू निर्वाचित भएपछि पनि तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उम्मेदवार श्रेष्ठले निवर्तमान मेयर जिरेलले गरेका कामहरूको उच्च प्रशंसा गर्दै जिरेलले अगाडि बढाउन विकासका योजना र अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । ‘टंकबहादुर जिरेल पहिलो मेयरका रूपमा जिरीमा रहेका थिए । उनले विकासको खाकाहरू कोर्नुभयो र जिरीको विकासका लागि धेरै कामहरू गर्नुभएको छ,’ उम्मेदवार श्रेष्ठले भने, ‘ग्रीन जिरी, क्लिन जिरी र अग्र्यानिक जिरी भनेर जुन मुभमेन्ट उनले चलाएका छन् । यसलाई अहिलेको मेयरसापले पनि निरन्तरता दिनुपर्छ । हामी संघ र प्रदेश सभामा निर्वाचित भइसकेपछि यसलाई जहिले पनि बढावा दिने प्रण गर्दछौँ । व्यक्तिगत रूपमा पनि यो अभियानलाई सघाउन कुनै कसर बाँकी राख्ने छैन ।’
यस्तै जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो भएको बताउँदै उनले त्यसलाई शैक्षिक हबका रूपमा विकास गरिने बताएका छन् । जिल्लाबाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्नेगरी त्यसको विकास गरिने उनको योजना छ ।
‘जिरी टेक्निकल स्कुल जिरीको अर्को आकर्षणको थलो हो । गरिब जनताका छोराछोरीले पढ्ने ठाउँ हो । त्यसकारण यो टेक्निकल स्कुल यहाँको समृद्धिको आन्दोलनलाई टेवा दिने चिज हो । मैले सांसद जितेपछि देशभरीकै आकर्षणको थलो बनाएर जिरीलाई आर्थिक रूपमा समृद्ध पार्नेगरी कामको नेतृत्व गर्ने प्रण गर्दछु, प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।
त्यस्तै उनले जिरी अस्पतालको सेवाप्रवाहलाई गुणस्तर र प्रभावकारी बनाउने, जंगल र जडिबुटीको समुचित प्रयोग र सदुपयोग गरिने, सामुदायिक विकास, पर्या–पर्यटन, व्यवस्थित बजार र जनजीवीकाका कुरालाई एमालेले विशेष ध्यान दिएर काम गर्दै आएको र आगामी दिनमा त्यसलाई थप उन्नत बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
समग्रमा उनले जिरीलाई एजुकेशन हब, टुरिजम हब र अग्र्यानिक हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । देखिने र देखाउने गरी काम गर्ने योजना र प्रतिबद्धतासहित अगाडि बढेको नेकपा एमाले दोलखाका उम्मेदवारहरूले गठबन्धनलाई पराजित गरेरै छोड्ने उनको भनाइ छ ।




















