काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन हुने निश्चित भएसँगै उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा कम्मर कसेर लागेका छन् । हरेक नेताको आआफ्नै तरिकाको प्रचारशैली छ । यसै मेसोमा काठमाडौं क्षेत्र नम्बर ४ का दुई उम्मेद्वार नेपाली कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीचको चुनावी प्रचारप्रसार निकै नै तातेको छ र यो क्षेत्रको चुनावी परिणाम कस्तो आउला भनेर आआफ्नै तरिकाका अड्कलबाजी हुन थालेको छ ।
कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापा लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित थापा फेरि आफ्नो साख जोगाउने अभियानमा तीव्ररुपमा लागेका छन् । उता एमाले नेता एवं परराष्ट्रविद् डा. भट्टराई थापाको यसअघिको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ राम्रैसँग दिने भन्दै चुनावी मैदानमा खरो रुपमा उत्रिएका छन् ।
सत्ता गठबन्धनबाट नेता थापा र एमालेबाट नेता भट्टराईबीचको आगामी निर्वाचनमा पनि राम्रै टक्कर हुने भन्दै कसले बाजी मार्ने भन्ने चासो आमरुपमा पनि उठेको छ ।
यसअघि एमालेका भट्टराईसहित निर्मल कुइँकेल, नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई हराउँदै कांग्रेस नेता गगन थापा निर्वाचित भएका हुन् । एमाले नेता भट्टराईको भिडन्त थापासँग यो दोस्रो पटक हो ।
२०७४ सालको निर्वाचनमा कांग्रेस नेता थापाले २१ हजार ५५१ मत ल्याउँदा एमाले नेता भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । तत्कालीन निर्वाचनमा भट्टराई तीन हजार मतान्तरले थापासँग पराजित भएका थिए ।
डा. भट्टराई परराष्ट्र मामिला विज्ञ मानिन्छन् भने थापा नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका लोकप्रिय युवा नेता हुन् ।
थापा र भट्टराईसँगै भर्खरै नेपाल मजदुर किसान पार्टीका रमेश डंगोल, राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठ, लोकतान्त्रिक समाजवादीका भानुकुमार खड्कालगायत ३० जना यो क्षेत्रमा चुनावी प्रतिष्पर्धामा रहेका छन् । स्वतन्त्रबाट मात्रै यो क्षेत्रमा १३ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।




















