कपिलवस्तु । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विमला चौधरी र जिल्ला कमिटी सदस्य सोमनाथ अर्याल दर्जनौं कार्यकर्ता/समर्थकसहित एमाले प्रवेश गरेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ बाट माओवादी केन्द्र र नेपाली काँग्रेसका स्थानीय नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा कटिवद्ध विमला चौधरी स्थानीयदेखि केन्द्र तहसम्म पार्टीको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी थिइन् ।
त्यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल प्रभावशाली युवा नेताको रूपमा जिल्लामा परिचित रहेका छन् ।
यसैगरी नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य गौरीशंकर चौधरीको नेतृत्वमा दर्जनौं कार्यकर्ता र नेकपा विप्लव समूहबाट जिल्ला नेता नेत्र खनाल लगायतका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशी नेतृ विमला चौधरी, सोमनाथ अर्याल लगायतले आफूहरू सैद्धान्तिक र वैचारिक हिसावले कम्युनिष्ट विचार धारा अँगाल्दै आएको र नेकपा (एमाले) राष्ट्रियता र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले एमालेमा समाहित भएर राजनीतिक यात्रालाई अघि बढाउन चाहेको बताए ।
कपिलवस्तुको चार नम्बरमा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन कार्यालयमा पोलिटव्यूरो सदस्य विमला घिमिरे, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बलराम अधिकारी, केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेताहरूले नवप्रवेशीलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।




















