काठमाडैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान समाभुख अग्नी सापकोटा, संस्कृति पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगाएत ललितपुर महानगरपालिकामा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
त्यस्तै शुभेच्छुक लगाएत सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शताब्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई असोज ७ गते अस्पतालमा भर्ना भई उपचाररत थिए । जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राखिने छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।
ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुन । उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन । ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए ।



















