गोरखा । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विभिन्न नौटंकी रुप छन् भन्ने कुरा राजनीतिक वृत्तमा मात्र होइन सारा नेपाली जनतालाई थाहा भएकै कुरा हो । यसै मेसोमा आगामी निर्वाचनमा हारिने हो कि भन्ने पराजित मानसिकता बाेकेका उनी शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आगामी निर्वाचनमा मत तान्नकै लागि भए गोहीका आँसु झार्दै एकाएक भक्कानिए ।
गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका उनले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै घुँक्कघुँक्क नै गरे ।
माओत्सेतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै उनी घुँक्कघुँक्क गरिरहेका थिए । माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको उनले बताए । अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको उनको दाबी थियो ।
उनले माओवादी आन्दोलनमा विचलन आएको कुरा स्वीकार गरे । त्यसैले पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको उनले उद्घोष गरे । आफ्नो युवाकाल वितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको उनले बताए । यति बताइरहँदा उनी धेरैपटक बनावटी रोए ।
संसदवादीहरूमध्ये आफूमात्र भ्रष्टाचारमुक्त रहेको उनको दाबी थियो । माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त नरहेको आरोप लगाए ।




















