काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस नेतृत्वको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको हो ।
गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला आयोजना गरिएको छ। त्यस्तै कात्तिक ५ गते विराटनगर र जनकपुर, ६ गते धनगढी र सुर्खेत तथा ७ गते काठमाडौंमा प्रदेशस्तरीय भेला गरिनेछ । कात्तिक ४ गते बिहान ११ बजे पोखरामा हुने भेलाको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ भने दिउँसो २ बजे बुटवलमा हुने भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ ।
५ गते बिहान ११ बजे विराटनगर र २ बजे जनकपुरमा हुने भेलाको आयोजना कांग्रेसले गर्नेछ । जनकपुर भेलामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनेछ । कात्तिक ६ गते बिहान ११ बजे धनगढीमा हुने भेलाको व्यवस्थापन माओवादी केन्द्रले र दिउँसो २ बजे सुर्खेतमा हुने भेला कांग्रेसले आयोजना गर्ने तय भएको छ । कात्तिक ७ गते बिहान ११ बजे काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ ।




















