काठमाडौं । उम्मेदवारको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारको विषयमा बुधबार सत्तारुढ ४ दलले जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बिहीबार लोसपा अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धनका नेतृत्वकारी दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच असोज २२ गते भएको सहमति विपरित रहेको उल्लेख गरेका छन् ।
सत्तारुढ गठबन्धनले सर्लाही क्षेत्र नं. २ प्रतिनिधिसभातर्फको साझा उम्मेदवार महेन्द्र राय यादवलाई बनाएको छ । चार दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनका साझा उमेदवार महेन्द्र राय यादव र सर्लाही २ प्रदेश सभा (१) मा सुनिल साह र २ मा कौशलन्द्र किशोर राय यादव उम्मेदवार रहनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवलाई गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ । सोही विषयलाई लोसपाले असहमति जनाउँदै २२ गते भएको मधेश प्रदेशको सन्दर्भमा भएको सहमति नै आधिकारीक सहमति रहेको आग्रह गरेको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ – मित्रवत प्रतिस्पर्धा गर्ने, सर्लाही क्षेत्र नं. २ को (क) मा नेपाली काँग्रेसको उम्मेदवार हुने, सर्लाही क्षेत्र नं २ को (ख) मा लोसपा नेपालको उम्मेदवार हुने, सर्लाही क्षेत्र नं. १ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने, महोत्तरी क्षेत्र नं. १ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने, महोत्तरी क्षेत्र नं. २ को (क) मा लोसपा नेपालको उम्मेदवार हुने।’
सर्लाही २ मा लोसपाका राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् ।




















