काठमाडौं । निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (मंगलबार)बाट महाधिवेशन गर्न लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।
काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृहजिल्ला पनि हो । सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन् ।
दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रम जारी रहेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेका चन्दले सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । तीन वर्ष अघि शान्ति प्रक्रियामा आएको चन्दको पार्टी पनि विभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनबारे धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।




















