काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झण्डै ६ हजारको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले दुवै सभाको निर्वाचनका लागि आइतबार मनोनयको समय निर्धारण गरेको थियो । आयोगले निर्धारण गरेको सो दिन देशभरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचन लड्नका लागि ५ हजार ८ सय ६६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभाको ३ सय ३० सिटका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।
आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि उम्मेदवारलाई मनोनयनको समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आइतबार रातिसम्म उम्मेदवारी दर्ता कार्य जारी रहेकाले मनोनयन गर्नेको संख्या बढ्न सक्नेछ ।तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य राति अबेरसम्म जारी रहेको थियो ।कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ ।
जसका कारण मनोनयन गर्नेको संख्या केही बढ्ने देखिएको हो । आयोगका अनुसार आइतबार रातिसम्म प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २ सय ९३ महिला र १ अन्य गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ ।




















