काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । उनले काठमाडौं ४ बाट उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताए ।
महामन्त्री थापाले भने- ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला ।’
काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै भने, ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ । यहाँको माटोले मलाई बाँधेको छ । यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँले नै मलाई धेरै पहिचान दिएको छ । हुर्कन दिएको छ । त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’
निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्ना लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए । थापाले यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए ।




















