काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनका नेताहरू आज पनि बैठक बसेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेबाट जारी छ ।
गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन् । एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतले जनाएको छ ।
जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ ।
यसअघि टीकाको दिन सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमै बसेको शीर्ष नेताको बैठक बिना निश्कर्ष टुंगिएको थियो ।
साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरूबीच केही सिटमा सहमति जुट्न सकेको छैन ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले दुई सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।
यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि सहमतिमा पुग्न कठिन भएको बुझिएको छ ।




















