काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बडादशैँ २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने बताए ।
उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आमनागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरे ।
उनले नेपालीहरूको महान् चाड बडादशैँ २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताए ।




















