काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्याएको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताए । मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न नहुने उनको तर्क छ ।
ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राखेका छन् । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ ।
अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गरेका छन् । उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफुलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताए । कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेईमानी र धोका दिएको उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियार लगाएतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।




















