काठमाडौं । नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटवार्ता गरेका छन्
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षियसम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि भेटमा छलफल भएको परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिएका छन् ।
मेटमा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए ।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताएका छन् ।
ली चान्सुले बुधबार राष्ट्रपतिसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।