काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष लि चान्शुले बीच शिष्टाचार भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा मङ्गलवार आज भएको भेटवार्तामा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गर्दै नेपाल चीनको एक असल छिमेकी रहेको बताएका छन् ।
भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए।
अध्यक्ष लिले यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।
अध्यक्ष लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।





















