काठमाडौं । सत्ता गठबन्धनबाट सिट बाँडफाँटमा उचित सम्मान नहुने देखिएसँगै जनता समाजवादी पार्टीले एमालेसँग तालमेल गर्ने संकेत गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरु व्यस्त भइरहँदा गठबन्धनको मुख्य घटक जसपाले गठबन्धन तोड्ने संकेत गरेको हो ।
यत्तिखेर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभएको भन्दै एमालेसँग भित्रभित्रै सहकार्य सुरु गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएका उपेन्द्रले मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव अगाडि सारेका छन् ।
मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०–५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेको स्रोतले जानकारी दिएको छ ।
यादवको प्रस्ताव ओली पनि सकारात्मक देखिएको बताइएको छ । अध्यक्ष यादवले हिजोमात्र कुनै पनि बेला गठबन्धन छोडिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।
आज–भोलिभित्रै दुई नेताबीच छलफल हुने र निष्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशका ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव असन्तुष्ट बनेका हुन् ।
उता सत्ता गठबन्धनले लोभ देखाएर पनि टिकट दिने कुनै छाँटकाँट नदेखाएसँगै लोकत्रान्तिक समाजवादी पार्टी (लोसपा) पनि ओलीतिरै नजिकिएको छ ।
यसअघि एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई पनि पाँचदलीय गठबन्धनमा मिसिन भनेका थिए ।
त्यहीअनुसार तीन चरण वार्ता पनि भएको थियो । तर मधेश प्रदेशका सिटलाई लिएर पाँच दलीय गठबन्धन नै संकटमा परेपछि लोसपाले एमालेसँग निकटता बढाएको हो । देउवाले गठबन्धनमा आउन भने पनि ठोस खाका नदिएपछि अब लोसपाले एमालेसँग सहकार्य गर्न लागेको हो ।




















