काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्ती कांग्रेस तथा शुभेच्छुक संस्थाहरुले बिभिन्न कार्यक्रम गरेका छन् ।
वीपी जन्मजयन्तीका अवसरमा काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्रहालयमा रहेको वीपीको शालिकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगाएतका नेताहरुले माल्यार्पण गरेका छन् । सो क्रममा शर्माले वीपी भनेको बिचार र संस्कार भएको बताए ।
समाजलाई बुझ्ने क्रममा वीपीको दृष्टिकोण अहिले पनि जिवन्त रहेको उनले बताए । उनले अहिले कांग्रेसको घोषणापत्रमा निरन्तरतामा नविनता प्रदान गर्ने जिकिर गरेका छन् ।
कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले पार्टीको घोषणा पत्रले युवाहरुलाई आगामी बाटो देखाउने दावी गरेका छन् । कतै नेपाल श्रीलंका त हुने होईन भन्ने भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनले अहिले नेपालमा त्यस्तो अवस्था नरहेको स्पष्ट पारेका छन् । शर्माले जनताकाबीच आत्मआलोचना गर्दै बिगतको गल्ती दोहरिन नदिनेगरि काम गर्ने बताएका छन् ।
जहानियाँ राणा शासनको विरोधमा वीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ ।



















