काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाए विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।
गठवन्धन भत्किन नदिन सभापति शेरबहादुर देउवाले ८५ सिटसम्ममा चित्त बुझाउने संकेत गरेपछि कोइरालाले सो चेतावनी दिएका हुन । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।
तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले यसबारेमा केन्द्रीय नेतृत्वको सामुन्ने पटकपटक कुरा रखेको बताएका छन् ।
सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने वताउँदै कोइरालाले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम साझा सहमति हुनुपर्ने बताएका छन् ।
गठबन्धन विचित्रको रहेको बताउ्रँदै कोइरालाले भने “एकातिर जननायक बीपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरु छन्, उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्यौँ।”
संसद पुनस्थापनाको एजेन्डा सकिएपछि पनि गठवन्धन हुनु भएको अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको डा. कोइरालाले तर्क गरेका छन् ।
‘यो गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो । पाँच वर्ष स्थायी सरकार दिन्छौँ भनेका छौँ, सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अफ्ठ्यारो पार्छ। बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन।’ कोइरालाको तर्क छ । तर माओवादी र समाजवादीहरु कांग्रेसलाई सय सिट दिन तयार नभएको कोइरालाले बताएका छन् ।
त्यस्तै कोइरालाले निर्वाचन घोषणा भइसकेको अवस्थामा संसदको म्याद थप्ने प्रयास गर्नु हाँस्यास्पद भएको पनि बताए ।



















