काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको र आफुलाई दुःख लागेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिमा तेश्रो दिनको बयान दिने क्रममा जबराले साँढे आठ बर्षसम्म उक्त मुद्दामा राय लिँदा पीडित परिवारमाथि अन्याय नै भएको आफुलाई लागेको र उक्त मुद्दा फैसलामा प्रायश्चित गरेको बताए । उनले उक्त मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने स्पष्ट पारेका छन् ।
उनले यो मुद्धाको सम्पूर्ण जिम्मेवारी आफुले लिने र अन्य न्यायधीशलाई आरोप नलगाउन आग्रह गरेका छन् । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको र उनका बच्चाहरुलाई ख्याल गरेर कैद घटाउने स्वविवेकीय अधिकार प्रयोग गरेको उनको भनाई छ ।
त्यस्तै जवराले संवैधानिक अंगका पदाधिकारी नियुक्तिमा सम्बन्धमा परेका रिट निवेदनहरुमा एक बर्षसम्म पनि प्रारम्भिक सुनुवााई नगरेको आरोप अस्वीकार गरेका छन् । संसद बिघटन र संवैधानिक नियुक्तीको मुद्धा संगसंगै परेकाले संसद बिघटनको मुद्धालाई प्राथमिकता दिइको उनले बताएका छन् ।
बैठकपछि समिति सदस्य मीन विश्वकर्माले आइतबार बैठकको कार्यबिधि संशोधन गरेको जानकारी दिए । अव प्रश्न सोध्ने र लिखित जवाफ लिएर प्रतिप्रश्न गर्ने उनले बताएका छन् । आइतबार पाँच वटा प्रश्न सोधिएको र अर्को बैठक भाद्र २५ गते बस्ने विश्वकर्माले जानकारी दिएका छन् ।
समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको थियो । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।



















