सप्तरी । सप्तरीमा नेपाली कांग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा सात सय नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । यसबाट चुनावको मुखमा दुवै पार्टीलाई ठूलो झड्का लागेको छ ।
शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता यादव सहित नेकपा (माओवादी केन्द) का राजनारायण साह लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नेता यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार थिए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीका प्रवक्ता मनिस सुमन, पार्टीका राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो । निर्वाचन नजिकिएसँगै पार्टी प्रवेशले तिव्रता पाएको पार्टीका प्रचार विभाग प्रमुख पूणर्बहादुर बस्नेतले बताए ।





















