काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेको आरोप लगाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताए ।
नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरु गरिरहेको भन्दै उनले दोषीउपर मुद्दा दर्ता समेत हुन नसकेको बताए । उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाए ।
सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाए । उनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पु-याउन खोजिएको हो भन्दै प्रश्न समेत गरे । उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गरे ।
त्यस्तै समय माग गरी बोल्दै नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताए । उनले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे । त्यस्तै उनले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई प्रश्न गरे ।




















