काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो ।
समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ ।
बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनले अघि सारेको २१ बुँदेमै सांसदहरुले सही गरेर आफूमाथि महाअभियोग लगाएको आरोप लगाएका छन् ।
महाअभियोग सिफारिस समितिमा बयानका लागि दोस्रो दिन उपस्थित भएका जबराले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेमै सत्तारुढ सांसदहरुले सही गरेको बताए ।
उनले भने, ‘बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, त्यसमै सही छाप गरेर ल्याउनुभएको छ ।’
बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको भन्दै न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।




















