काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दैछ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजे बस्ने छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।
नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ। सम्भवत् आजको बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउने नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । गठबन्धनमा शीर्ष तहमा पनि सिट बाँडफाँटबारे छलफल जारी छ ।
कांग्रेस नेताहरूले १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताइसकेका छन् ।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए । तर शीर्ष नेताहरूको पछिल्लो भनाइ अनुसार सम्भवतः आज भागबन्डा टुंगिने सम्भावना छ ।




















