काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बयानका लागि सिंहदरबार पुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन ।
गत बुधबार बसेको समितिको बैठकले महाभियोग लागेका जबरालाई बयानका आज बोलाउने निर्णय गरेको थियो । । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो ।
राणालाई संघीय संसद् सचिवालयका मर्यादापालकले सुरक्षा दिएर भित्र लगेका थिए ।
प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा सत्तारुढ दलले महाअभियोग दर्ता गरेपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।




















