काठमाडौं । निर्वाचनको मुखैमा सरकारले विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना तथा कार्यक्रमका लागि आवश्यक दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका राजपत्रांकित अधिकृत तहका ४३१ पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत चिकित्सा शिक्षा आयोग र मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना कार्यक्रम र समितिका लागि राजपत्रांकित श्रेणी वा सोसरहका १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाका लागि ५० राजपत्रांकित पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरिएको छ ।
चुनावको मुखैमा सरकारले अस्थायी कर्मचारीको दरबन्दी सृजना गर्नु आफ्ना कार्यकर्ताहरुलाई मन्त्रालयमा भर्तीकेन्द्र बनाउन खोजेको स्पष्ट छ ।




















