काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
आइतबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतीले पारित भएको थियो ।
त्यसअघि आइतबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त बिधेयकका सम्बन्धमा जानकारी गराएका थिए । यसअघि संसदको दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएपनि राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता गरेपनि प्रतिनिधिसभाबाट हुबहु पारित गरेको थियो ।
संसदीय प्रक्रिया छल्दै फास्ट ट्रयाकबाट विधेयक पारित गरेकोमा सर्वत्र आलोचना भएको थियो । राष्ट्रियसभामा विषयगत समितिमा पठाइएसँगै नागरिकता विधेयक पारित गर्ने लम्बिने निश्चित भएको छ । राष्ट्रपतिबाट आएको सन्देशलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेर हुबहु विधेयक पारित गरेको विषयमा सर्वत्र आलोचना भएपछि सरकार केही लचक बनेको हो ।
अव विधायन व्यवस्थापन समिति पारित गरेपछि मात्रै उक्त बिधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बोलाइएको छ ।
























