काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी थिए ।
बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रिया लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
गठवन्धनलाई सिट भागवण्डा गर्न निकै सकस परेको देखिन्छ । कार्यदलले धेरै प्रयास गरेपनि सफल हुन सकेको छैन । गठवन्धनमा आवद्ध दलहरुले धेरै भन्दा धेरै सिट आफ्नो भागमा पार्न खोज्दा भागवण्डा मिलाउन सकस परेको देखिन्छ ।

























