काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण आशिंक रुपमा शैक्षिक क्षेत्र र यातायात क्षेत्र प्रभावित भएको छ ।
बन्द आह्वानका कारण अधिकांश शैक्षिक क्षेत्र बन्द भएपनि काठमाडौंमा भने यातायात पूर्ण रुपमा सञ्चालनमा आएका छन् । बन्दकर्ताले काठमाडौंमा बिहानै केहि स्थानमा सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना गर्न खोजेपछि बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको थियो । सो क्रममा केहि बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण उपत्यकाबाहिरका केहि स्थानमा पूर्ण तथा आंशिक प्रभाव परेको छ ।
त्यस्तै बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताएका छन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।सरकारसँग वि।सं। २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।



















