काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षाअनुरुपको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि उनले जानकारी दिए ।
उनले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतीहरूलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए ।
उनले भने- ‘नेकपा एमाले जोसँग विगतमा सरकार संचालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि नेकपा एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार सञ्चालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढी व्यवहारिक, बढी उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसाबले होइन्, एउटा राजनीतिक दलको हिसाबले भोलि गर्न सकिने मुद्दाहरूमा केन्द्रित हुँदै व्यवहारिक मुद्दाहरूमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरूलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणापत्र हामी बनाउनेछौं ।’

























