काठमाडौं । राप्रपा नेपालले प्रदेश संरचना खारेज गर्न माग गर्दै राजधानीमा प्रर्दशन गरेको छ । सो पार्टीका जनवर्गीय संगठनहरु युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायतले प्रदेश संरचना खारेजलगायत विभिन्न माग राख्दै शुक्रबार संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
माईतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गरिएको छ ।
प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
अध्यक्ष कमल थापाले केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकारको आवश्यक्ता नरहेको बताएका छन् । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुने थापाको तर्क छ ।
त्यस्तै थापाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने बताउँदै आएका छन् । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका छन् ।
अध्यक्ष थापाले अहिले नै राजसंस्था स्थापितका लागि आवाज उठाउनु आत्मरती मात्रै हुने भन्दै अहिले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउँदै आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी समेत गरेका छन् ।
























