काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । यही साउन २० गते अनिवार्य अवकाश पाउने एआईजी पोखरेलले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका हुन ।
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले सिंहको नियुक्ति सदर गरिदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।
सरकारले सिंहलाई आईजीपी नियुक्ति गर्ने निर्णय गरेलगत्तै तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट स्वीकृत गराएर पोखरेल एक महिना विदामा बसेका थिए । पुनः विदा माग गरेपनि आईजीपी सिंहले स्वीकार नगरे पनि उनी अफिस गएका थिएनन् ।
निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् ।
पोखरेलले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुने बताइएको छ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।
























